श्री सत्य साई बाबा

श्री सत्य साई बाबा आज संसारमा एक धेरै सम्मानित आध्यात्मिक शिक्षक र अवतारी महापुरुषको रूपमा चिनिनुहुन्छ। सत्य, धर्म, शान्ति, प्रेम र अहिंसाको दैनिक जीवनमा पुन: स्थापना गर्दै उहाँ संसारलाई परिवर्तन गर्दै हुनुहुन्छ । उहाँका विश्वभरि लाखौं – करोडौं अनुयायीहरू छन् ।

उहाँ नोवेम्बर २३, १९२६ मा दक्षिण भारतको एउटा सानो दुर्गम गाउँ, पुट्टपर्तीमा जन्मनुभएको थियो। बाल्यावस्थाको नाम सत्यनारायण राजु रहेको, उहाँले चौध वर्षको उमेरमा, आफ्ना माता-पिता र गाउँलेहरूलाई आफ्नो

नाम सत्य साई बाबा हो भनेर घोषणा गर्नुभयो र उहाँ भारतीय सन्त, शिरडीसाई बाबाको पुनर्जन्म भएको जानकारी गराउनु भयो । शिरडीमा पहिलो साई अवतार भगवान शिवको रुप हुनुहुन्थ्यो; पर्ति मा दोस्रो अवतार शिव र शक्तिको रुप हुनुहुन्थ्यो; र प्रेम साईको रूपमा उहाँ शक्तिको अवतार हुनुहुनेछ भनेर उहाँले घोषणा गर्नुभएको थियो । एकपल्ट उहाँले आफु ९६ वर्षसम्म बाँच्ने र आफ्ना अन्तिम १० वर्ष एउटा डाँडाको टुप्पोमा बिताउने कुरा खुलाउनुभएको थियो ।

उहाँको मिसन प्रेम, सत्य, शान्ति, धर्म र अहिंसाका सर्वोच्च सिद्धान्तहरूद्वारा मानवताको आत्मिक पुनर्जन्म ल्याउनु थियो ।

उहाँ श्री सत्य साई बाबा, साई बाबा, स्वामी, भगवान, वा केवल बाबाको रूपमा विश्वका लाखौं मानिसहरूबाट चिनिनुहुन्छ । सबैलाई प्रेम गर्ने र सबैको सेवा गर्ने उहाँको सिद्धान्त अनुरुप उहाँले प्रेमलाई सेवा मार्फत दर्साउँदै विभिन्न सेवामुलक परियोजनाहरूको स्थापना पनि गर्नुभएको छ, जसमध्ये नि:शुल्क शिक्षा प्रदान गर्ने विद्यालयहरू, नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालहरू, खाने पानीका विशाल परियोजनाहरू, ईत्यादि पर्दछन् । उहाँका अनुयायीहरू र भक्तहरू विश्वका सबै देश र धर्महरूमा फिँजीएका छन् र संसारमा उहाँका थुप्रै धार्मिक केन्द्रहरू भक्तहरूद्वारा संचालन गरिएका छन् ।


सद्गुरु श्री मधुसूदन साई

श्री मधुसूदन नायडू श्री सत्य साई इन्ष्टिच्युट अफ हायर लर्निङ्गका धेरै उत्कृष्ट र प्रतिभाशाली पूर्व छात्रहरू मध्ये एक हुन् । उहाँले स्वामीबाट रसायनशास्त्र र एम.बी.ए. पाठ्यक्रमहरूमा विश्वविद्यालयमा प्रथम भएबापत दुईवटा स्वर्णपदकहरू प्राप्त गर्नुभएको छ । बहु प्रतिभाका धनी, श्री मधुसूदनले विद्यार्थी जीवनको समयमा कला, नाटकहरु र संगीतमा उत्कृष्ट प्रदर्शन गर्नु हुन्थ्यो । एक प्रख्यात वक्ता र एक प्रतिभाशाली कलाकार, उनलाई एक पटक स्वामीले आमा ईश्वरअम्मा र बुबा श्री पेद्दा वेंकम्मा राजुको चित्र रंगाउने अनौठो अवसर पनि प्रदान गर्नुभएको थियो ।

सन् २०११ को मार्च महिनातिर श्री सत्य साई बाबाले श्री मधुसूदनको घरमा सूक्ष्म रूपमा उनलाई दर्शन दिने, कुराकानी गर्ने, ईत्यादि गर्न थाल्नुभयो । सन् २०११ को एप्रिल २४मा स्वामीको महासमाधि पछि पनि उहाँले श्री मधुसूदनलाई आफ्नो सूक्ष्म रूपको संचारकको रूपमा प्रयोग गर्नुभयो । यतिसम्म कि उनीद्वारा विभिन्न भक्त तथा सेवकहरूलाई सम्पर्क गरी, विभिन्न स्वास्थ्य सेवा र शिक्षा सम्बन्धि परियोजनाहरू पनि सुरु गर्नुभयो । यो सबै वृत्तान्त श्री मधुसूदनबाट उहाँको पुस्तक “दिव्य कथा”मा समेटिएको छ। सन् २०१४मा कोडईकनालको यात्रामा पहिलो पटक स्वामीले श्री मधुसूदन मार्फत सार्वजनिक प्रवचनहरू दिन थाल्नुभयो।

सुन्दा अचम्म लाग्ने, पहिले कहिले पनि न सुनिएको न त महसुस नै गरिएको, यो भगवानको प्रेमको एउटा यस्तो अद्वितीय उदाहरण हो, जहाँ आफ्नो शरीर छोडिसके पछि आफ्नो भक्तहरूको लागि भगवान श्री सत्य साई बाबा सूक्ष्म रूपमा आफ्नो संचारकको माध्यमबाट फेरि आफ्ना भक्तहरू माझ हिंड्ने, कुरा गर्ने, प्रश्नहरूको उत्तर दिने, ईत्यादि गर्नुभयो । भक्तहरूले भौतिक आँखाले श्री मधुसूदनको छेउमा हिंडिरहेका भगवानलाई नदेखे पनि उनी मार्फत स्वामीको प्रेम र सर्वज्ञता मनग्य महसुस गर्थे । जसरी गुलियो कहिले नचाखेको व्यक्तिलाई गुलियोको महसुस शब्दबाट वर्णन गर्न सकिंदैन, त्यसरी नै अदृश्य भगवानको अमूल्य प्रेम महसुस गरे पछि मात्र थाहा हुन्छ ।

स्वामीले सूक्ष्म रूपमा आफ्ना प्रवचनहरूमा भन्नुभएको छ, “यस संसारमा सबैका चार प्रकारका शरीरहरू हुन्छन् : स्थूल शरीर (भौतिक शरीर); सूक्ष्म शरीर; अति सूक्ष्म शरीर (उच्च सूक्ष्म शरीर) र पार सूक्ष्म शरीर (सर्वव्यापी महासूक्ष्म शरीर) । स्थूल शरीर भनेको भौतिक शरीर हो, जुन जो कोहिले पनि देख्न सक्छ । म अहिले भौतिक शरीरमा छैन, तर सूक्ष्म शरीरमा छु, जुन भौतिक भन्दा पर छ । मेरो अति सूक्ष्म शरीरमा, म मानिसहरूका स्वप्नहरू र ध्यानहरूमा प्रवेश गर्दछु र उनीहरूलाई मार्गदर्शन दिन्छु । पार सूक्ष्म शरीरमा म ब्रहमाण्डको हरेक परमाणुमा प्रज्ञा वा चेतनाको रूपमा विद्यमान छु । यो समयमा, तिमी भौतिक शरीरमा छौ । जब तिमी यस कोठा भित्र हुन्छौ, तिमीले बाहिर के छ देख्न सक्दैनौ, किनभने बीचमा भित्ता छ । तर, सूक्ष्म शरीर देश, काल र परिस्थितिले बाँधिएको हुँदैन, र त्यसैले यसलाई भौतिक आँखाले देख्न सकिंदैन ।

“मेरो ८५ वर्षको शरीर एउटा धेरै पुरानो मोटर भइसकेको थियो । के कसैलाई पनि ८५ वर्ष पुरानो मोटरमा चढ्न मन लाग्छ ? पाङग्राहरू गइसके, एक्सिलेरेटर (गतिवर्धक) ले काम गरिरहेको छैन, ब्रेकहरू फेल (विफल) भएका छन् । मलाई त्यो पुरानो मोटरदेखि झर्को लाग्यो, जुन यथेष्ट छिटो हिँडिरहेको थिएन । मलाई नयाँ मोटर लिनुपरेको थियो जुन अझै छिटो हिँडोस् । मैले त्यही गरें, किनकि मलाई भौतिक शरीरसँग कुनै लगाव थिएन । त्यसमा के गल्ती छ ?

“म भौतिक स्वरूपमा हुँदा, मैले भोग्ने गरेको पीडाको तीव्रता म तिमीहरूलाई वर्णन पनि गर्न सक्दिनँ । तिमीहरूको एउटा मात्र हड्डी भाँचिए पनि तिमीहरू त्यसको दुखाइ सहन सक्दैनौ । कम्तिमा पनि एक महिना तिमीहरू कष्ट भोग्नेछौ । मेरो लागि, हजार हड्डीहरू एकै पटक भाँचिरहेको जस्तो भएको थियो । के तिमीहरू अझै मैले त्यस्तो पीडा सहोस् भन्ने चाहन्छौ ?”

अहिले भगवान सूक्ष्म रूपमा पुट्टपर्ती र बैंगलोरको बीचतिर रहेको मुद्देनहल्ली नामक ग्रामिण स्थानमा “श्री सत्यसाई ग्राम” आश्रममा डाँडाको टुप्पोमा रहेको ‘साई आनन्दम्’ नाम गरेको आफ्नो भवनमा बस्नुहुन्छ – उहाँले पहिले नै आफ्नो जीवनका अन्तिम १० वर्षहरू डाँडाको टुप्पोमा रहने भविष्यवाणी गर्नुभए जस्तै !

संसार भरिका भक्तहरू उहाँको सूक्ष्म स्वरूपको उपस्थितिमा रहन, उहाँलाई प्रश्नहरू सोध्न, उहाँको प्रेम पाउन मुद्देनहल्ली जाने गर्दछन् । स्वामीले यसरी सूक्ष्म रूपमा कार्य गर्नुमा अर्को रहस्य पनि खुलाउनु भएको छ। त्यो के भने, सत्य साई बाबाको एउटा कार्य, यो संसारलाई प्रेम साई बाबाको लागि तयार गर्नु पनि हो । शिरडी साई बाबा महाराष्ट्र राज्यभन्दा बाहिर जानुभएन । श्री सत्य साई बाबा भारत भित्रै रहनुभयो, एक पटक नाइजेरिया जानुभएको बाहेक । तर प्रेम साई बाबाले यो संसारभरि सुनौलो युगको स्थापना गर्नुहुनेछ जसको लागि उहाँले विश्वभरि यात्रा गर्नुहुनेछ। त्यहि लक्ष्य अनुरुप उहाँका संसारभरि आश्रमहरू हुनेछन् । आफ्नो भौतिक शरीरमा सत्य साई बाबाले पुट्टपर्ती नछोड्ने वाचा आफ्नी मातालाई दिनुभएको थियो। भौतिक शरीरको अन्त्य पछि भौतिक मातालाई दिएको वाचाले अब सूक्ष्म रूपमा उहाँलाई कतै जान पनि रोक्दैन । अहिले उहाँ संसारभरि सूक्ष्म शरीरमा यात्रा गरेर, विश्वका विभिन्न मुलुकहरूमा १८ वटा (शायद त्यो भन्दा बढी) आश्रमहरू स्थापना गर्दै हुनुहुन्छ र एउटा नवीन रूपले संसार भरिका भक्तहरूको आफ्नो देश र घरमा स्वामीलाई निमन्त्रण गर्ने आफ्नो कहिले देखिको धोको पुरा गर्दै हुनुहुन्छ।

सुरुमा श्री मधुसूदनले स्वामीलाई देख्ने र उहाँका वाणीहरू भक्तहरू माझ दोहोर्याउने गर्नुभयो । उहाँको आफ्नै आध्यात्मिक प्रगतिसंगै स्वामीलाई हुबहु आफ्ना भक्तहरूसँग अन्तरक्रिया गर्नको लागि उहाँले आफुले आफैंलाई आफ्नै विचार र भावनाहरूबाट रित्तो राख्ने गर्नुभयो, ताकि भगवानको ऊर्जा आफ्नो शरीर मार्फत भक्तहरूमा पुगोस् । त्यसपछि उहाँको आफ्नै हिंडाई, बोलाई इत्यादि स्वामिकै जस्तो देखिन थाल्यो, प्रवचनहरूको त कुरै नगरौं । एउटा रित्तो बाँसुरीमार्फत मात्रै भगवानको मधुर धुन बज्न सकेको जस्तै, आफैंलाई एउटा रित्तो (विचार र ईच्छा रहित) साधन बनाएर श्री मधुसूदनले आफ्ना गुरु र भगवान श्री सत्य साई बाबाको सेवा गर्नुभयो । यो गर्ने क्रममा, स्वामीले उहाँको मार्फत भक्तहरूसँग कुराकानी गर्ने वा परियोजनाहरू बारे निर्देशन दिने मात्र होइन, बरू पहिले कै जस्तो विभूति, सिक्री ईत्यादिको प्रकटीकरण र शिवरात्रीमा लिङ्गोदभवम् पनि गर्नुभयो । यो क्रम बढ्दै जाँदा १६ जुलाई २०१९को गुरु पुर्णिमामा भगवान श्री सत्य साई बाबाले आफुमा यसरी सम्पूर्ण रूपमा समर्पित रहेर नि:स्वार्थ भई सेवा गरेका आफ्नो भक्त र संचारक श्री मधुसूदनलाई देवत्त्व प्रदान गर्नुभयो । अहिले उहाँ सद्गुरु श्री मधुसूदन साईको नामले चिनिनुहुन्छ।


श्री सत्य साई उवाच शृंखला

सूक्ष्म स्वरूपमा भगवान श्री सत्य साईबाट दिनुभएका प्रवचनहरू संसार माझ पुर्याउन र यसलाई विश्वका विभिन्न भाषाहरूमा उल्था गर्न भगवान स्वयंले श्री सत्य साई प्रेमामृत प्रकाशनको स्थापना गर्नुभयो । यस प्रकाशन अन्तर्गत, उवाच समूहका विश्वभरि २०० भन्दा बढी अनुवादक र सम्पादकहरूको समूहले, विश्वका २० वटा भाषाहरूमा स्वामीले सूक्ष्म स्वरूपमा दिनुभएका प्रवचनहरू अनुवाद गर्दछ, र यो संख्या बढ्दैछ । श्री सत्य साई उवाच भगवानका यिनै प्रवचनहरूको पुस्तक रूपी संकलन हो, ताकि विश्वभरिका भक्तहरूले आफ्नो भाषामा सूक्ष्म स्वरूपमा भगवानले दिनुभएका दिव्य प्रवचनहरू पढ्न र आत्मसात गर्न सकून् ।


यस वेबसाईटमा तपाईंले नेपाली भाषाका उवाच पुस्तकहरू खरिद गर्न सक्नुहुन्छ । नेपाली भाषामा उपलब्ध सबैभन्दा पछिल्ला पुस्तकहरू यस प्रकार छन् :

पुस्तकहरू